मेरो पाईला हिमाल पारी !!!

47 मेरो पाईला सेताम्मै हिमाल पारी !!! अचम्म लाग्यो होला कि कसरी मेरो पाईला त्यत्रा ठुला अग्ला हिमाल पारी पुग्यो होला भनेर ? तर अचम्म नपर्नुस् किनकी हो मेरो पाईला हिमाल पारी पुगेको छ ।


चारै तिर सुख्खा अनि मात्र खुख्खा, ठुल ठुला ढुङ्गा अनि उडिरहेको थुलो माटो, अग्ला अग्ला हिमाल पुरै सेत्ता, अनि हरिया हुनु पर्ने पहाडहरु पुरै रित्ता । चिसो हावा अनि उडाउँला झै चलेको बतास, ति आँखाले नभ्याउँने सम्मका डाँडाहरु मानौं कुनै अनविज्ञ दुश्मनबाट बचाउँनको लागि ठडिएको हो, शायद यसैलाई भन्छन होला डरलाग्दो अनि अनन्तकालिन मनोरम दृश्य अनि प्रकृतिको सुन्दरता । टाढा टाढा सम्म देखिएका ति सुख्खा मरुभुमी अनि थुम्का थुम्का जस्ता रहेका यि घाँसका काँडे झुप्पाहरु ? लाग्थ्यो आफैमा एउटा छुट्टै परिचय बोकेको छ, आफैमा एउटा कथा व्यथा लिएर बाँचेको छ अनि आफनो दिनचर्यामा एउटा भिन्न व्यवहार छ । कुनै कविको कविता, गायकको गित, नायकको अभिनय अनि श्रोताको माया भन्दा कम छैनन् यि सौन्दर्यका धनी हिमालपारीको देश “मुस्ताङ्ग” ।

सानो छँदा किताबमा पढेको थिए र सरले भनेको कुरा कान ठाडो पारी पारी सुनेको थिए । लाग्थ्यो “म पुग्न सकुँला त हिमालपारीको देशमा ? कस्ता होलान त्यहाँका मान्छेहरु ? के खान्छन होला ? हिउँ पर्छ रे ? जाडो हुँदैन होला ?” फेरी छट्टु पारामा आफैलाई भन्थे “हया के जाडो हुन्थ्यो होला र ? हिउँ खेल्न पाए पछि पनि कहि जाडो हुन्छ र ? रमाईलो पो हुन्छ नि ।” यस्तै यस्तै कुरा सोच्ने गर्थे म ? हुन पनि हो किन नसोचुँ त म ? आफनो काठ छोडेर कहाँ नै गएको थिए र म काठे ? तर त्यतिबेला देखि नै मैले ठानी सकेको थिए कि म ठुलो भए पछि एकदिन न एकदिन हिमालपारीको सुन्दरीलाई हेर्न पुग्छु पुग्छु र आज यि म यहि छु । मानौं कुनै अच्चम्मको देशमा आईपुगेको छु म ? के यो मेरै देश हो ? हरियो बन नेपालको धन शायद यि हिमालपारीको देशलाई नहेरी भनेका हुनु कि ? अनि लाग्यो, देश मेरो कहाँ सानो छ र ?
पोखराबाट बिहान ७ बजेको चियाको चुस्कीसँगै मेरा मोटरसाईकलका पाङ्ग्राहरु दौडिन थाले, मानौं मलाई भन्दा यो मोटरसाईकललाई मुस्ताङ्ग चाँडै पुगेर उसको सुन्दरता हेर्नु थियो, ऊसँग भलाकुसारी गर्नु थियो ।

48 धुलाम्मै बाटो कतै ठुल ठुला ढुङ्गा भएका बाटा, कतै पानीले ढयाप्पै छेकेका बाटाहरु, कतै डरलाग्दो भिरालो त कतै नाकले छुने उकालो, कसैले पनि हामीलाई रोक्न सकेन र सक्थ्यो पनि कसरी त ? पुग्छु भनेपछि के कुराले रोक्थ्यो र मलाई ? फेरी सानै बेला देखि जिददी छु भनेर साथीहरुले पनि त भन्थे नि । हुन त डर नलागेको हैन मलाई ? एकातिर हेर्यो कालो काली गण्डकी आँ गरेर स्वा गरेर बगिरहेको हुन्थ्यो त कतै बाटा भरी पानी नै पानी अनि चिप्लौटे बाटाहरु, डर नलागेको त कहाँ हो र ? तर मेरो मोटरसाईकलले अनि मेरो पछाडी बसेको साथीले थाहा पाउँला कि भनेर केहि नभनि चुप लागेर मोटरसाईकल चलाई नै रहेको थिए । हुन सक्छ मोटरसाईकललाई र मेरो पछाडी बसेको साथीलाई पनि डर लागिरहेको थियो तर दुवैजना मौन थिए र हामी सबैले बाटा, खोलानाला, झरनालाई चुनौती दिदै अगाडी बढिरहने आँट गरि नै रहेका थियो । हरिया पहाडहरु बिस्तारै बिलीन हुन थाले, अनि खुख्खा डाँडाहरु बिस्तारै हाँस्दै स्वागत गर्न थाले । अन्नपुर्ण र निलगिरी हिमालहरु बिस्तारै पछाडी छुटिन थाले अनि लाग्यो यहि कारणले गर्दा भन्दा हुन मुस्ताङ्गलाई हिमालपारीको देश ।

मोटरसाईकल चलाउँदा चलाउँदा अनि बिहान केहि नखाएकोले गर्दा होला भोकले बयाकुल भएको म र मेरा साथी, छिर्यौ काबुङ्ग भन्ने ठाउँमा रहेको डोल्मा दिदीको होटेलमा ।
डोल्मा दिदीले सोधीन “के खाने हो ? यहाँ त भेडाको सुकुटी मात्र छ ।”

मैले प्रति उत्तर दिए “भात पकाई दिनु न हामी कुर्छौ बरु त्यतिन्जेल सम्म दुई प्लेट सुकुटी ल्याई दिनु ।”

डोल्मा दिदीले हुन्छ भनेर भान्सा तिर लागि र हामी खानालाई कुर्दै अगाडी पछाडी रहेका डाँडाकाँडा अनि स्विजरल्याण्ड जस्ता देखिने भु–भागहरु हेर्दै रमाउँन थाल्यो । खाना पाक्दा खाँदा झण्डै डेढ घण्टा जति पछि फेरी हामी हुकियौ र झण्डै ४ बजेतिर हिमालपारीको देश मुस्ताङ्गको जोमसोममा पुग्यौ ।

जोमसोम पुगेर मात्र कहाँ सकिन्थ्यो र मेरो यात्रा ? मुक्तिनाथको दर्शन पनि त गर्नु थियो । जोमसोमबाट, कागबेनी हुँदै अग्ला डुङ्गे अनि बतासे बाटो हुँदै मुक्तिनाथको मन्दिरतिर लाग्यो । हावा यस्तो चलिरहेको थियो कि मानौ हामीलाई यसले उडाएर अन्तै कतै लैजान्छ कि ? तर पनि ति हावाहुरीसँग खेल्दै मुक्तिनाथको मन्दिरसम्म पुग्यौ । दर्शन गरिसकेर कहाँ बस्ने कुरा हुँदा हुँदै जोमसोम नै जाउँ भने मेरा साथीले र हामी फर्कियौ जोमसोम नै ।

49 साँझ सिमसिम पानी परेकोले होला साह्रै नै चिसो भईरहेको थियो र हल्का स्याउको चुस्की लगाएर सुते त न्यानो हुन्छ भनेर हामी बस्ने होटेलको साउनीले सुनाउँदै थिई । अनि हामी पनि के कम थियौ र लाग्यौ जिउँ तताउन तिर । जिउँ त तात्दै थियो तर मन शान्त थिएन, किन ? किन भने मनमा धेरै कुराहरु खेलिरहेको थियो मेरो ? म नेपाली भएर त मलाई आफनै देश घुम्न यति गाह्रो छ भने बाहिरबाट आउँने पाहुनालाई कति गाह्रो हुँदो हो ? अनि सुत्दा सुत्दै सोच्न थाले “यदि बाटो राम्रो हुने हो भने त ? नेपाली अनि बिदेशीहरुलाई यहाँ सम्म आउँन गाह्रो पक्कै पनि हुदैन थियो नि है ? अनि त पर्यटकको आगमनले गर्दा हाम्रो देशलाई कति फाईदा हुन्थ्यो होला ? खोई किन होला सरकारले यि कुराहरुमा ध्यान नदिएको ? पक्कै पनि हिमालपारीको देश नआएर हो कि ?”

~ Sabin Singh is the Radio Program Producer of Saathi Sanga Manka Kura

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

1 Comment so far

Anonymous's picture

हल्का स्याउको चुस्की लगाएर सुते त न्यानो हुन्छ

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.