सन्दर्भ : नारी दिवसको

 

आज १०३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहदा आज मेरो मनमा अनेकौँ कुराहरु खेलेका छन् । हेर्दा हेर्दै नारी दिवस वा भनौँ महिला दिवस मनाउन थालेको पनि १०३ बर्ष भैसकेछ । यो दिवस १०३ वर्ष अगाडि साहसीक ग्रीक महिला लिसिस्ट्राटाले फ्रेन्च युद्धताका युद्ध अन्त्यका लागि पुरुषका विरुद्ध थालेको यौनिक आन्दोलनबाट प्रारम्भ भएको थियो वा यो दिवसको सुरुवात भएको थियो । नेपालमा पनि यो दिवस विं सं २०४६ सालदेखि मनाउन थालिएको हो । तर  दिवस मनाईरहदा नेपाली महिलाहरुमा कति परिवर्तन भयो त ? के हामी त्यसको बारेमा कहिले सोचेका छौँ ? नारी दिवस मनाउदैमा नारीमा परिवर्तन आउने हो त ? भन्ने कुराले मेरो मनमा ठुलै हलचल मच्याईरहेको छ ।

मलाई आज नारी दिवस हो भनेर  विहानै रेडियोमा समाचार सुन्दा म सानो छदाको नारी दिवसको झल्को आयो । मेरी एउटी दिदी थिईन । उनले नारी दिवसमा नारी मुक्तिको कविता सुनाएर प्रथम भईन । उनी त्यो दिन एकदमै खुसी थिईन । म उनलाई देखेर अचम्म परेर सोधेँ हैन दिदी तिमी आज किन यति सारो खुसी भएकी हँ... मेरो पुरै कुरा सकिन नपाउदै उनले भनिन् हेर नानी आज त नारी दिवस हाम्रो बारेमा धेरै कुराहरु गर्न पाईन्छ । हाम्रो अधिकारका कुरा गर्न पाईन्छ र गर्नु पर्छ । तैले मेरो कविता सुनिनस् कस्तो क्रान्तिकारी थियो । लौ त्योृ अधिकार भनेको के हो मलाई त केहि पनि थाहा थिएन अनि त्यो क्रान्तिकारी भनेको त के हो के । अझ दिदी भन्दै थिईन हेर अब म यस्तै कविताहरु लेखेर कविताको संग्रह निकाल्छु र नारी अधिकारको क्षेत्रमा काम गर्छु । अब हामी सधैँ चुलोचौको गरेर बस्नु पर्दैन । महिला र पुरुष बराबर हो । अब त सबै काम आधा आधा हुन्छ । हामी पनि उनीहरु जस्तै काम गर्न सक्छौँ । उनीहरुको जति अधिकार छ हाम्रो पनि त्यति नै छ । उनले आफ्नो कुरा एक सासमा सुनाएर मख्ख परेकी थिईन ।  उनको कत्रो सपना थियो समाज परिवर्तन गर्ने । ती दिदीलाई म आज सम्झिरहेकी छु । किनकी उनी अहिले त्यो कविता लेखेको डायरीलाई एकातिर थन्काएर साना साना उनका बालबच्चा हुर्काउदै र उनको श्रीमानको हेरविचार गर्दै व्यस्त छिन । उनको त्यो सपना सबै कता गयो कुन्नि ? 

केहि बर्ष अगाडिको कुरा हो म मेरै गाउमा रहेको एउटा स्थानिय एफ. एम. स्टेशनमा काम गर्न थालेकी थिए । म नारी दिवसको समाचार संकलन गर्न कार्यक्रम स्थलमा पुगे । कार्यक्रम स्थल एकदमै सिंगारिएको थियो । त्यहाँ निकै तामझाम पनि थियो । मसँगै समाचार संकलनका लागि मेरै एकजना सहकर्मी पनि जानु भएको थियो । विभिन्न गाउँबाट निक्कै उत्साहका साथ महिला दिदी बहिनीहरु आउनु भएको थियो । महिला विकास कार्यालयले आयोजना गरेको त्यो कार्यक्रमको आधा घण्टा प्रत्यक्ष प्रशारण गर्नु पर्ने थियो हामीले । एकछिन आयोजकसँग कुरा गरेपछि प्रत्यक्ष प्रशारण गर्न थाल्यौँ । थोरै महिला विकास अधिकृतको कुरा र थोरै महिला अगुवाको कुरा सुने पछि हामी गाउबाट नारी दिवसको कार्यक्रममा आउनु भएकी एकजना दिदीसँग कुरा गर्न थाल्यौँ । उहाँलाई त नारी दिवस भनेको के हो ? कस्ले आयोजना गर्यो ? कार्यक्रममा आएर के जानिन्छ केही पनि थाहा छैन रैछ । उहाँ नाचगान गर्छन रमाईलो हुन्छ भनेर सबैजनाले भनेपछि आउनु भएको रे श्रीमान घरपुग्दा उहाँ त्यहाँ हुनुभएन भने गालीमात्रै होईन पिटाईपनि खान सकिन्छ भन्ने डर पनि उहाँलाई नभएको होईन तर पनि  घरमा गाईबाख्रालाई घास हालेर, अनि सानो बच्चालाई सुताएर नारी दिवस मनाउन आउनु भएको । हतार छ रे उहाँलाई घर फर्किन घर पुगेर गाईभैसीलाई घास काट्नु परिवारका लागि खाना बनाउनु के के हो के के काम त । मलाई उहाँसँग धेरै नै कुरा गर्न मन लागेको थियो तर हाम्रो प्रत्यक्ष प्रशारण गर्ने समय सकिनै लागेको थियो र उहाँसँगको कुरा टुङ्ग्याउनै पर्ने भएको थियो । उहाको कुरा कति घतलाग्दा थिए । कति यर्थात र वास्तबिक थियो उहाँको कुरा । 

आज मलाई ती दुई नारी दिवस सम्झनामा आईरहेका छन् । किनकी मैले पनि अब नारी दिवसको बारेमा केहि भएपनि जान्न पाएको छु जसलाई नारी दिवस भनेको के हो ? तर नारी दिवस किन मनाईन्छ थाहा नभएका तर पनि कार्यक्रमको रमाईलो हेर्न पुग्ने नारीहरुले के बुझछन् त  । मनमा डर र त्राससँगै बोकेर एकछिनको रमाईलोमा आफुलाई सामेल गराएर सबै दुख विर्सिने प्रयास गरिहरेका हुन्छन् । तर उनीहरु बर्षका ३६४ दिन घर परिवार, श्रीमान, छोराछोरीको स्याहार सुसार र घरधन्दाको कामले एकछिन पनि सास फेर्ने फुर्सद पाउदैनन् । हरेक दिन हरेक समय घरको काममा नै आफुलाई व्यस्त बनाउछन् । तर पनि हरेक प्रकारका यातना उनीहरुले नै भोगिरहेका हुन्छन् । अन्तराष्ट्रिय नारी दिवसको पुर्वसन्ध्यामा रुकुममा भएको घटनाले पनि यो कुरालाई पुष्टि गर्दछ । 

हुन त पछिल्लो समयमा महिला हिंसाका घटना धेरै  सार्वजनिक भएका छन् । तर पनि त्यसलाई न्युनीकरण हुन भने सकेको छैन । यस्ता घटनालाई हुनै नदिन र भए पनि दोषीलाई कारबाहि गर्नु आजको आवश्यकता देखिन्छ । दिवस मनाएर बेलुका घर फर्किदा श्रीमान र घरका अन्य सदस्यबाट दुव्र्यवहार भोग्ने कहिले सम्म त ? त्यसैले दिवसमा गर्ने कार्यक्रम र दिने शिक्षा एकदिन मात्रै हैन हरेक दिन हुनु पर्छ । शब्दमा मात्र हैन व्यवहारमा पनि उतार्ने हो भने पक्कै पनि नारी दिवस नमनाए पनि नारीले सम्मान र समान अबसर पाउन सक्थेँ होला नी हैन र ? 

- सविता आचार्य

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

0 Comment so far

Post new comment

By submitting this form, you accept the Mollom privacy policy.