बलात्कारको विषवृक्ष

SSMK Buzz

बलात्कार– स्त्रीद्वेषी संस्कृतिमा हुर्कने विषवृक्ष हो । हामी त्यही विषवृक्षका फेदमा अनेक गीत, कविता, नीति श्लोक र गाउँखाने कथा भन्दै, सुन्दै, रमाइलो मानेर बसिरहेका छौं ।

पूर्व जानकारीः यस लेखमा यौन, जननाङ्ग, यौन अत्याचार, बलात्कार, सम्भोग आदिलाई प्रत्यक्ष बुझाउने वा सङ्केत गर्ने केही शब्दहरूको प्रयोग गरिएको छ। छापामा यौनसित सम्बन्धित शब्द र चर्चा पढ्न नरुचाउने तथा प्रचलित मूल्य, मान्यता, नियम र विचारको आलोचना गरेको सुन्न नसक्नेहरूसित अग्रिम क्षमायाचना ।

*******************************************

सबभन्दा पहिले पाठकलाई एउटा प्रश्न– के तपाईं बलात्कार गर्न सक्नुहुन्छ ?

दोहोर्‍याएर सोध्दा पनि तपाईंको मनले ‘सक्दिनँ’ भन्यो भने विचार गर्नुहोस्, संसारका लाखौं मान्छेले गरिरहेको बलात्कार गर्नबाट तपाईंलाई रोक्ने कुरा के हो ?

माथिको प्रश्नको जवाफमा कसैको मनले ‘सक्छु’ पनि भन्न सक्छ । यसमा मनले ‘सकारात्मक’ जवाफ दियो भने सोच्नुहोस्, यो दुनियाँले गलत भनेको, कानूनले अपराध ठहर्‍याएको काम गर्ने अनुमति मनको कुन कुनाबाट, कुन ग्रन्थीले दियो ?

अब अर्को प्रश्न । के तपाईं कहिल्यै बलात्कृत हुनुभएको छ ?

हुनुभएको छैन भने तपाईं भाग्यमानी । किनभने कुनै पनि उमेरका महिला (र, बालकहरू) लाई बलात्कारबाट जोगाउने ‘भाग्य’ भन्दा ठूलो रक्षक अहिलेसम्म देखिएको छैन । हामी कुनै पनि महिला कुनै पनि किसिमले कुनै पनि बेला बलात्कृत हुनसक्ने संसार र समाजमा बाँचेका छौं ।

दुर्भाग्यवश तपाईं बलात्कृत हुनुभएको छ भने प्रश्न लम्बिन्छ । के तपाईं त्यो कुरा लिएर प्रहरीमा जानुभयो ? अरू कसैलाई भन्नुभयो ? बलात्कारीले सजाय पायो ?

जानु भएन भने किन जानु भएन, केले रोक्यो तपाईंलाई ?

रिस नउठेर त होइन, शारीरिक र मानसिक पीडा नभएर त झ्न् हुँदै होइन । त्यसो भए किन मौन रहनुभयो त ?

अरूले के भन्लान् भनेर ?

बरु कसैले थाहा नपाउँदा नै बाबुआमाको इज्जत वा घरजम जोगिन्छ भनेर ?

जागिर वा पाएको काम गुम्छ भनेर ?

पुलिसकहाँ गए पनि कारबाही हुने होइन भनेर ?

बलात्कारीले आफूलाई वा आफ्ना नजिकका मान्छेलाई अझ क्षति पुर्‍याउन सक्ला भनेर ?

कि आइमाईको कामै ‘थापिदिने’ त हो भनेर ?

बलात्कारका बारेमा अर्थ लाग्ने निष्कर्ष निकाल्ने हो भने हामीले केही अप्ठ्यारा र अप्रिय प्रश्न गर्नुपर्छ, जसबाट हामीलाई आफ्नो र आफ्नो समाजका बारेमा आफैंले थाहा नपाएका कुरा थाहा हुन सक्छ । अनि बल्ल थाहा हुन्छ हामीलाई बलात्कारको जरो कहाँ छ भनेर ।

बलात्कारको परिभाषामा समय र ठाउँ अनुसार अन्तर पाइन सक्छ । नेपाली बृहत् शब्दकोशले आजभन्दा करीब ३५ वर्ष अघि दिएको परिभाषा अहिले अपूरो लाग्छः

बलात्कारः कुनै स्त्रीलाई उसको इच्छा विरुद्ध जबर्जस्तीसँग सम्भोग गर्ने काम; बलपूर्वक सतीत्व नष्ट पार्ने काम ।

यो परिभाषामा रहेका दुई वटा शब्द, ‘जबर्जस्ती’ र ‘सम्भोग’ ले धेरै कुरा व्याख्या गरे पनि अब ‘स्त्रीको इच्छाविरुद्ध जबर्जस्तीसित गरिएको सम्भोग’ ले मात्र बलात्कारको अर्थ समेट्दैन । त्यो शब्दकोश निस्केताका समाजमा प्रचलनमै नरहेको शब्द ‘तेस्रोलिङ्गी’ ले अहिले कानूनी मान्यता समेत पाइसकेको छ ।

यस सम्बन्धमा ‘सतीत्व’ शब्द पनि सान्दर्भिक छैन, किनभने यो शब्दले वैवाहिक बलात्कार र यौनकर्मीहरूलाई हुने बलात्कारलाई समेट्न दिंदैन । माथिको परिभाषाले पुरुष, खासगरी बालक र किशोरहरूमाथि हुने बलात्कारलाई पनि समेट्दैन ।

यस लेखमा विभिन्न स्रोतबाट संश्लेषण गरेर बलात्कारलाई यसरी परिभाषित गरिएको छः

कुनै पनि व्यक्तिलाई कुनै पनि किसिमको डर–धम्की दिएर, शारीरिक वा मानसिक प्रताडना दिएर वा बन्दी बनाएर उसको योनी, गुदद्वार वा मुखमा लिङ्ग वा कुनै अन्य अङ्ग वा कुनै बाह्य सामग्री प्रवेश गराएर गरिने यौनकार्य वा यौन प्रताडना नै बलात्कार हो ।

कुनै शारीरिक वा मानसिक स्वास्थ्यस्थितिका कारण वा कुनै लागूपदार्थ वा औषधिको प्रभावमा रहेर आफ्नो सहमति व्यक्त गर्न नसक्ने र जबर्जस्ती करणी हुँदा प्रतिकार गर्न नसक्ने व्यक्तिसित गरिएको कुनै पनि प्रकारको मैथुन बलात्कार हो । कानूनतः नाबालिग व्यक्तिसितको कुनै पनि किसिमको मैथुन वा यौन गतिविधि उसको सहमतिमै गरिएको भए पनि बलात्कार हो ।

जहाँ असल कुरा उपलब्ध हुन्छ, त्यहाँबाट खराब कुरा हटाउन सजिलो हुन्छ । त्यसैले अहिलेको आवश्यकता हो असल यौन साहित्य र सामग्री, जसले आफ्नो यौन साथीको वा अरू कसैको मन, शरीर, भावना र यौन चाहनाको कदर गर्न सिकाउँछ ।

यस परिभाषाले वैवाहिक सम्बन्धमा रहेका वा विवाह विनै सहवास गर्ने व्यक्तिहरूबीचको वा कुनै पनि यौनकर्मीसितको जबर्जस्तीसित गरिने मैथुनलाई पनि समेट्छ ।

छोटकरीमा, बलात्कार आफूभन्दा कमजोर व्यक्ति, खासगरी महिलाप्रतिको अनादर र हेपाइको निकृष्टतम रूप हो । यो यौनका लागि गरिने शक्तिको नाङ्गो प्रदर्शन, वा शक्ति देखाउनका लागि प्रयोग गरिने जबर्जस्तीको मैथुन हो ।

माथिको परिभाषाले व्याख्या गरेजस्तो बलात्कार गर्नेहरूको संख्या समाजमा निकै सानो हुन्छ । तर हामी प्रायः सबै नै विभिन्न किसिमले ‘बलात्कारको संस्कृति’ को अङ्ग भने भइरहेका हुन्छौं ।

बलात्कारको संस्कृति
‘बलात्कार’ जबर्जस्ती करणीको घटना मात्र नभएर महिलाहरूप्रतिको हेपाइको चरमोत्कर्ष हो । तर यो जङ्गलमा फाट्टफुट्ट पाइने विषालु च्याउ होइन, स्त्रीद्वेषी संस्कृतिमा हुर्कने विषवृक्ष हो । सन् १९७० को दशकमा अमेरिकी फेमिनिस्टहरूले यसलाई ‘रेप कल्चर’ नामकरण गरेका हुन् ।

समाजशास्त्रीहरू भन्छन्, यो संस्कृतिले सबभन्दा पहिले महिलाप्रतिको हेयभाव र वस्तुकरणलाई थाहा नपाइने गरी सामान्यीकरण गर्छ, त्यसपछि उनीहरूलाई अपमान गर्छ र अन्त्यमा अनुचित छोइछाई र बलात्कारका रूपमा आक्रमण गर्छ । कहिलेकाहीं त त्यो हेपाइ हत्यासम्म पनि पुग्न सक्छ ।

तर हामी त्यही विषवृक्षका फेदमा अनेक गीत, कविता, नीति श्लोक र गाउँखाने कथा भन्दै, सुन्दै, रमाइलो मानेर बसिरहेका छौं । अरू त अरू हामी बलात्कारका बारेमा ठट्टा गर्न समेत भ्याउँछौं । महिला यौनिकतालाई सजिलै उडाउँछौं ।

तपाईं कहिल्यै यस्ता गाउँखाने कथा भनेर वा सुनेर हाँस्नुभएको छ ?

“सुत् बूढी म हाल्छु, के हो ?” (जुत्ता लगाएको )

वा, “आधा हाल्दा ऐया ऐया पूरा हाल्दा सन्च” (चुरा लगाएको)

वा, “पहेंलो सारी फर्लक्क पारी, कालो दुलोमा ल्वाम्म हाली” (केरा खाएको)

तपाईंले कहिल्यै यस्ता गीत सुन्नुभएको छ ?

“अम्बाभित्र गेडैगेडा सुन्तलामा रस छ

सिमलकाँडे भएपछि जत्रै पनि पस्छ”

यो गीतको दोस्रो हरफले स्तन उम्रिन थालेकी बालिकाको ‘लिङ्ग ग्रहण गर्ने क्षमता’ को व्याख्या गरेको बुझदा तपाईंका मनमा कुनै स्वैरकल्पना आयो (कि घृणा जाग्यो) ?

तपाईंले महिलाका लागि ओछ्यान, माल, भाँडो जस्ता शब्दको प्रयोग गर्नुभएको छ ?

तपाईंले ‘धेरै जनासित सुत्ने’ भनिएकी महिलाका लागि रण्डी, भालु जस्ता शब्दको प्रयोग गर्नुभएको छ ?

तपाईंले सम्भोगका लागि ठोक्ने, बजाउने, भ्याउने जस्ता शब्दको प्रयोग गर्नुभएको छ ?

चर्को लाग्यो ? क्षमा गर्नुहोस् पाठक, हामीमध्ये धेरैको यौन मनोविज्ञान यस्तै कथा, तुक्का र शब्दहरूबाट निर्माण भएको छ । जुन समाजमा माथिका प्रश्नहरूको जवाफमा ‘अँ, हो’ भन्ने वा चूप लाग्ने मान्छे धेरै हुन्छन्, त्यहाँ बालिका बलात्कार ‘ठूलो कुरा’ होइन । त्यहाँ अनिच्छित सम्भोगका क्रममा महिलाले गरेको ऐया–ऐयाको महत्व खासै छैन, किनभने हामी त्यसमा पनि ‘चुरा लगाउँदा जस्तो एकछिन पछि सन्च भइहाल्छ’ भन्ने जानेर हुर्केका छौं ।

यही समाज हो, जहाँ पात्तिएका दयेंरेहरू कविता हाल्छन्,

“एक रानी पोखरी खुलित्त नेपारी म आउँछु घोप्टो परी

हाल्नेछु ... मा पुर्‍याउँछु मुटुमा झिक्नेछु आन्द्रै सरी ।”

सम्भोगको यस्तो आपराधिक चित्रण पचाउन र गाउन सक्ने सिङ्गै समाजलाई बलात्कारको विषवृक्षका फेदमा आराम गरिरहेको समाज भन्नु अर्घेलो हुन्छ र ?

कुनै पनि समाजलाई हामीले त्यसको पृष्ठभूमिबाट बुझ्नुपर्छ । आफ्नो इतिहास र संस्कृतिलाई हेर्ने हामीसित दुई वटा विकल्प छन् । पहिलो, ‘हाम्रो परम्परा महान् थियो र छ’ बाट कुरा शुरू गर्ने विकल्प र दोस्रो, ‘हाम्रो धर्म र संस्कृतिमा पनि धेरै समस्या थिए र हामीले ती सबैबाट पाठ सिकेर आफ्नो र आउने समयलाई राम्रो बनाउनुपर्छ’ भन्ने विकल्प ।

“म धेरै महिलासित कुरा गर्ने पेशामा छु । अधिकांश महिला कुनै न कुनै प्रकारले म जसरी नै कहिले बाबुआमाको इज्जतका लागि र कहिले छोराछोरीको भविष्यका लागि बलात्कार खपेर बसेका छन् ।”

अहिले अनेक किसिमका जोखिम मोलेर दोस्रो विकल्प रोज्ने मानिसहरूको संख्या बढिरहेको छ । उनीहरू मनुस्मृति लगायतका केही ग्रन्थहरूले गरेको महिलाको चित्रण र तोकेका भूमिकाहरूको विरोध गर्छन् र त्यसलाई स्त्रीद्वेषी भन्छन् ।

भारतवर्षमा, मूलतः संस्कृतमा लेखिएका र त्यसको आधारमा स्थानीय भाषामा रचना गरिएका सामग्रीहरूमा महिलालाई अपमान गरिएका धेरै कुरा भेटिन्छन् । तीमध्ये कैयन् धार्मिक आवरणमा छन्, केही संहिता छन् र केही नीति र नीतिश्लोकहरूका रूपमा छन् । चाणक्य नीतिले स्त्रीहरू विश्वासयोग्य हुँदैनन् भनेको छ (१/१५) र त्यही लयमा लोकले आफ्नो पाठ बनाएको छ,

आगो र पानी तरुनी र मूर्ख

राजा र साप‌देखि नमान्नू हर्क ।

नेपाल र भारतका हिन्दूहरूले श्रद्धापूर्वक पढ्ने रामायणका रचयिता तुलसीदास ‘नारीलाई ढोल जसरी नै पिट्नुपर्छ’ भन्छन् । हाम्रा भानुभक्त थप्छन्, ‘वेश्या हुने हाँस्दछन् ।’

पुराण र स्मृतिहरू नारी पात्रहरूको चरित्र, पवित्रता, सतीत्व आदिका महिमामण्डित कथा उपकथाहरूले यसरी भरिएका छन् कि सुन्दासुन्दै मान्छेको मूल्यप्रणाली त्यसै अनुसार स्थापित हुन्छ । यी कुरालाई ‘नराम्रो’ भन्न विद्रोही भन्दा विद्रोही व्यक्तिको पनि आँट पुग्दैन ।

मान्छे प्राकृतिक रूपमा पनि कमजोर र बलियो हुन्छ । तर त्यसभन्दा बढी कसैलाई संरचनागत रूपमै पनि कमजोर बनाइन्छ । महिला र तेस्रोलिङ्गी व्यक्तिहरूलाई कमजोर बनाउन शताब्दीयौंदेखि अनेक किसिमका प्रपञ्च गरिएका छन् । उनीहरूको कपाल, बस्त्राभूषण, आवागमन र बसउठ र शरीरको पवित्रतासित सम्बन्धित घोषित अघोषित नियमहरूले महिलालाई जहिले पनि बाँधेका छन् ।

तर तीमध्ये केही त यति परिमार्जित भइसकेका छन् कि ती महिलाको इज्जत, प्रतिष्ठा बढाउन, परिवार र समाजको थिति बलियो बनाउन तथा उनीहरूको रक्षा गर्नकै लागि बनाइएका जस्ता लाग्छन् । उनीहरूलाई बोकाइएको इज्जत, सतीत्व, अस्मिता (चलनचल्तीको अर्थमा), पवित्रता र चोखोपनको भारीकै कारण उनीहरू शिर उठाएर हेर्न पनि नसक्ने गरी कजिएका हुन्छन् ।

त्यतिले नपुगे उनीहरूको शीलस्वभाव, लचिलोपन र सहनशीलताका सुन्दर वर्णन गरिएको हुन्छ । तिनले झ्ट्ट हेर्दा महिलाको प्रतिष्ठा बढाएको देखिए पनि प्रकारान्तरले उनीहरूलाई कमजोर बनाइरहेका हुन्छन् ।

केही कुरा प्रशंसा र गाली नछुट्टिने खालका हुन्छन् । उदाहरणः

स्त्रीणां द्विगुण आहारो लज्जा चापि चतुर्गुणा ।

साहसं षड्गुणं चैव कामश्चाष्टगुणः स्मृतः ।।

(चाणक्य नीति १/१७)

‘नारीहरूको आहार पुरुषको भन्दा दोब्बर, लज्जा चौबर हुन्छ, आँट ६ गुणा र कामेच्छा आठ गुणा बढी हुन्छ ।’

अनि ऊ आफ्नोभन्दा आठ गुणा बढी कामेच्छा भएकी नारीका यौन भावना र गतिविधिमा नियन्त्रण गर्ने नियम बनाउँछ र यस्ता श्लोकहरू रचिदिन्छ कि नारीले आफूभन्दा आठ गुणा कम काम क्षमता भएको पुरुषको पतिव्रत्यमा बस्नै पर्छ ।

वा, ऊ नारीको ‘नाइँ’ लाई स्वाङ ठान्छ, किनभने उसले ‘आइमाईलाई त हामीलाई भन्दा आठ गुणा धेरै चाहिन्छ रे’ भन्ने कुरा जानेको हुन्छ र ऊ त्यो आठ गुणाको क्षतिपूर्ति दिन तम्सिन्छ ।

अझ्ै पनि ‘हाम्रो परम्परा महान्’ भन्ने कि तिनको आलोचना गरेर नयाँ समाजका लागि नयाँ बाटो बनाउने ?

बलात्कार मान्छे सँगसँगै जन्मिएको एउटा दुष्प्रवृत्ति हो, जो संसारका सबै समाजमा सधैंभरि विद्यमान छ । सभ्यताको परिमार्जनसँगै मान्छेको जातले आफ्ना धेरै खराब प्रवृत्ति र प्रचलनहरू छाड्दै गएको छ, तर बलात्कार छुट्न सकेको छैन । बरु समाज सँगसँगै यो अझ जटिल हुँदै गएको छ, किन ?

किनभने, बलात्कारका बारेमा, धेरै चर्चा चलेपछि केही पुरानै कुरा दोहोर्‍याउने बाहेक हामी वास्तवमै मौन छौं । हामी आफैंसित त अप्ठ्यारा प्रश्न गर्न डराउँछौं भने अरूसित कसरी प्रश्न गर्न सक्छौं र ? र प्रश्नहरूबाट नै भागिरहने हो भने हामी न कुनै निष्कर्षमा पुग्न सक्छौं, न त समस्यालाई समाधानको बाटो देखाउन नै सक्छौं । बलात्कारका समाचारको बाढी आएका बेला मात्र संवेदनशीलता देखाएर अरू बेला मौन रहने हो भने हामी फेरि पनि समाचार नै पढ्ने तयारी गरिरहेका हुन्छौं ।

प्रहरीमा आएका तथ्याङ्कहरू मात्र हेर्दा अहिले देशमा हरेक दिन तीन वटा बलात्कार भइरहेको देखिन्छ, जसमध्ये हरेक दुई दिनमा एक जना १० वर्षमुनिकी बालिका बलात्कृत भइरहेका छन् । बाहिर आएका घटना त नगण्य मात्र हुन् । उनकै भाषामा ‘झ्ण्डै दुई दशकसम्म बलात्कारमा बाँचेकी’ एक जना शिक्षित महिला अहल्या शर्मा भन्छिन्, “शारीरिक रूपमा बलात्कारको पीडा खप्नै नसक्ने केही बालिकाहरू र सहनशीलताका सबै सीमा काटिसकेका महिलाको कुरा मात्र प्रहरीमा पुग्छ । बलात्कारका घटनालाई सबभन्दा धेरै सहेर बस्न बाध्य समूहमा त कोही छिर्नै सक्दैन, ती म जस्तै विवाहित महिला हुन् ।”

वैवाहिक बलात्कारको भुंग्रो
अहल्याको आक्रोश अकारण छैन । सिक्किममा पढ्दा उनी इन्द्र लिम्बूसित प्रेम गर्थिन् । “म २०–२१ वर्षकी थिएँ, ऊ तीन वर्ष जेठो थियो । हामीले एक पटक दार्जीलिङको एउटा होटलमा रात बिताएका थियौं । हामी सँगै सुत्यौं । अँगालो मारेर म्वाईं खाएर नै घन्टौं बिताएका थियौं । हामी दुवै उत्तेजित थियौं । तर मैले ‘त्यो चैं बिहे पछि मात्र है’ भनें, इन्द्रले पनि सरक्कै मान्यो ।”

तर अहल्याको विवाह इन्द्रसित हुन सकेन । उनको बिहेलाई उनका सनातनी बाबुको जीवन–मरणको प्रश्न बनाइएपछि उनी गौतम उपाध्यायसित बिहे गरेर इटहरी आइन् ।

“तपाईं पत्याउनुहुन्छ ? गौतमले मलाई पहिलै रात बलात्कार गर्‍यो । ऊ आयो । केही नबोली मेरा लुगा खोल्न थाल्यो । मसित केही कुरै नगरी, ‘सिक्किमको मान्छे, यहाँ त गर्मी भयो होला हगि ?’ सम्म नभनी मलाई राम्रोसित सुम्सुम्याउँदा पनि नसुम्सुम्याई, एकपटक प्रेमपूर्वक म्वाईं पनि नखाई मलाई सम्भोग गर्‍यो ।”

अहिले एउटा गैरसरकारी संस्थामा काम गर्ने अहल्या खुल्छिन्, “एउटी २२ वर्षकी शिक्षित केटी, जसले प्रेम, यौनका बारेमा धेरै कुरा जानिसकेको हुन्छ, जसले वैवाहिक जीवनका बारेमा सपना देखेको हुन्छ, उसलाई त्यो पहिलो सम्भोग कस्तो भयो होला, तपाईं कल्पना पनि गर्न सक्नुहुन्न” उनी थप्छिन्, “त्यसपछि लोग्नेसित बिताएको करीब १७ वर्ष मेरा लागि नरक थियो । बाहिर ऊ ठीकठाक थियो । अलि बढी रक्सी खाने बाहेक दुर्गुण थिएनन् । तर बेडरूममा ऊ बिल्कुलै संवादविहीन हुन्थ्यो र म आफूलाई सधैं बलात्कृत ठान्थें । उसका सामु शरीर सुम्पिइसकेपछि हरेक पटक मलाई रुन आउँथ्यो । त्यसबेला मलाई लाग्थ्यो, म प्रेम नपाएकाले रुन्थें । अहिले मलाई सबभन्दा ठूलो पछुतो, गौतमसित बिताएको समयको भन्दा पनि त्यस दिन इन्द्रसित सेक्स नगरेकोमा छ ।”

उनी बताउँछिन्, “करीब १७ वर्षपछि, छोरीहरू पनि अलि हुर्किएपछि म ऊबाट अलग भएँ । त्यसपछि एकजना विवाहित मान्छेसित मेरो मित्रता र यौन सम्पर्क भयो । अनि बल्ल मैले किताबमा पढेको ‘अग्र्याजम’ को अनुभव गरें । अनि पो बुझें, गौतमसित सेक्स गर्दा मलाई सधैं किन रुन आउँथ्यो भन्ने कुरा । त्यो त अन्यायका कारण भन्दा पनि अतृप्तिका कारण आएको आँसु पो रहेछ ।”

अहल्या दाबी गर्छिन्, “म धेरै महिलासित कुरा गर्ने पेशामा छु । अधिकांश महिला कुनै न कुनै प्रकारले म जसरी नै कहिले बाबुआमाको इज्जतका लागि र कहिले छोराछोरीको भविष्यका लागि बलात्कार खपेर बसेका छन् ।” भन्छिन्, “शिक्षाले रोजगारी दिन्छ, इज्जत पनि दिन्छ । तर पढेलेखेका हुँदैमा महिला ‘इम्पावर्ड’ हुन्छन् भन्ने कुरामा मलाई ‘डाउट’ छ ।”

अहल्या भन्छिन्, “आफ्नो लोग्ने बाहेक अरू कसैले बलात्कार गरेको छ भने रिपोर्ट गर्न, विद्रोह गर्न र त्यसबाट मुक्त हुन सजिलो हुन्छ जस्तो लाग्छ । तर विवाहको बन्धनले त्यस्तो केही गर्न दिंदैन । मेरै कुरा गर्नुस् न, म के गर्न सक्थें र ? शुरूमा बेहुली थिएँ, तुरुन्तै गर्भवती भएँ अनि अर्की छोरी जन्मिई । अनि आधा जीवन यसरी नै बित्यो ।”

“सेक्समा हुने कुरा एउटै हो । त्यही काम प्रेमपूर्वक र सहमतिमा गर्न सक्नेहरू प्रेमी हुन्छन् र त्यसमै जोरजबर्जस्ती गर्नेहरू बलात्कारी हुन्छन्” अहल्या निष्कर्ष सुनाउँछिन् ।

“मलाई घरकै व्यवहारले यहाँ ल्याएको हो”, धेरै वर्षअघि एचआईभी एड्ससित सम्बन्धित एउटा डकुमेन्ट्री फिल्म बनाउने क्रममा नवलपरासीको बर्दघाट क्षेत्रमा भेटिएकी यौनकर्मी द्रौपदी खत्रीले भनेकी थिइन् । “लोग्ने इन्ड्या गयो । अनि जेठाजुले जबरजस्ती गर्‍यो । गर्भ रहेपछि बाग्लुङबाट पोखरा ल्याएर गर्भ फ्याँकिदियो । गाउँमा जान्छु त देवर पनि अघिपछि लाग्छ । ‘हाम्लाई सब थाहा छ’ भनेर धम्क्याउँछ । अनि मेरो पालो ‘तिमी बोक्सीको बानको ओछ्यान बन्नुभन्दा त...’ भनेर यता आएँ । दिदीसित बस्दा बस्दै यस्तै सिकियो ।”

द्रौपदीको भनाइ अनुसार उनकी दिदी पनि यौनकर्मी थिइन् । द्रौपदी हाँस्दै भन्थिन्, “यो कार्यक्रमले सबैको पोल खोलेको छ । कहिलेकाहीं त हाम्रो (यौनकर्मीहरूको) कार्यक्रममा एउटै घरका तीन चार जनासम्म भेला हुन्छन् ।”

उनको भनाइ थियो, “दुनियाँले हेपेको सहन, भालु र रण्डी भन्दै मनलाग्दी गरेको खप्न त कसलाई मन हुन्छ र सर, तर त्यही काम सित्तैंमा गर्ने कि पैसा लिएर गर्ने भन्ने रोज्नुपर्दा मैले यतै बस्ने निर्णय गरेकी हुँ ।”

हाम्रो समाजमा अहल्या र द्रौपदी मात्र होइन, उनका पतिको अपमान गर्न विष्णुले बलात्कार गरेका वृन्दाहरू पनि धेरै छन्, र धेरै छन् सूर्यले ‘कानबाट गर्भाधान’ गरेका कुन्तीहरू पनि ।

तर बलात्कारका धेरै वटा घटनाहरूको ‘जिग्सअ पजल’ लिएर बस्दा आउने निष्कर्ष हो बलात्कारको मूल कारण चाहिं बलात्कारको संस्कृतिले चित्रण गरेको ‘कमजोर नारीत्व’ र ‘चाहेको हासिल गरेरै छाड्ने पुरुषार्थ’ । कमजोर व्यक्तिलाई जे गरे पनि हुन्छ भन्ने भावना नै हो र त्यसलाई मलजल गर्ने दण्डहीनता । शक्तिको प्रदर्शन मात्र कि यौनको तुष्टि पनि ?

यौन दुव्र्यवहार र बलात्कारका कारण धेरै छन् । युद्धमा ‘शत्रुपक्ष’ का महिलाहरूमाथि हुने बलात्कारबाट कुनै पनि द्वन्द्वग्रस्त ठाउँ मुक्त हुँदैनन् । आर्थिक र सामाजिक कारणले हुने यौन शोषण र बलात्कार पनि सर्वत्र हुन्छ ।

शक्तिको प्रदर्शन, साटो फेर्ने चाहना, रिसको अभिव्यक्ति स्वरूप पनि बलात्कार हुन्छ र रक्सीले त्यसको सम्भावना अझ् बढाएको देखिन्छ । परपीडा, यौन कुण्ठा लगायतका मानसिक विकारका कारण बलात्कार गर्नेहरू पनि हुन्छन् । यस्ता कारण जति गने पनि पुग्छ ।

तर बलात्कार न त यौनको भोक मात्र हो, न त शक्तिको प्रदर्शन मात्र । शक्तिको प्रदर्शन वा अहङ्कारको तुष्टिको विषय मात्र हुँदो हो वा, यसका पछाडि कुनै न कुनै प्रकारको आनन्द वा मजा नहुँदो त बलात्कारीले मूलतः महिलालाई किन तारो बनाउँथे र किन करणी नै गर्थे ? त्यसैले बलात्कार शक्तिमा आधारित यौन अपराध हो र यौनका माध्यमबाट शक्ति प्रदर्शन गर्ने कुकृत्य हो ।

यौन शिक्षा र पोर्नोग्राफी
यौनको उत्सुकता र चाहना बढेका किशोरकिशोरीहरूका लागि आफ्नो भाषामा र आफ्नो आवश्यकता अनुसारका सुरुचिपूर्ण यौन साहित्य र सामग्रीको अभाव भइरहेका बेला इन्टरनेटको नदीमा हेलिंदै पोर्नोग्राफीका जहाज आए र हाम्रा किशोरकिशोरी र युवाहरू तिनै जहाज चढेर यौनको वर्जित द्वीपको परिभ्रमणमा हिंडे ।

अनि विपरीत लिङ्गीका यौन अङ्ग र स्वाभाविक यौनक्रिया–प्रक्रियाका बारेमा उठेका अबोध उत्सुकताहरूलाई ढाकिदिए सामूहिक सम्भोग र अरू विकारग्रस्त यौन व्यवहारका दृश्यहरूले । युवाहरूका लागि यौनको सौन्दर्य, मिठास, पारस्परिकता र प्रेमपूर्ण सम्बन्धका महत्व बुझाउने सामग्री न पाठ्यपुस्तकमा आए, न कुनै एनजीओले बनाएका कार्यक्रममा नै । न कुनै लेखक प्रकाशक त्यस्ता ‘अश्लील’ कुरा लेख्न छाप्न नै तयार भए ।

जहाँ असल कुरा उपलब्ध हुन्छ, त्यहाँबाट खराब कुरा हटाउन सजिलो हुन्छ । त्यसैले अहिलेको आवश्यकता हो असल यौन साहित्य र सामग्री, जसले आफ्नो यौन साथीको वा अरू कसैको मन, शरीर, भावना र यौन चाहनाको कदर गर्न सिकाउँछ । त्यस्ता सामग्रीले समाजमा सुरुचि फैलाउँछन् । सुरुचि र अर्को व्यक्तिप्रतिको आदरभाव बाहेक केहीले पनि बलात्कारको विषवृक्षका फेदमा बञ्चरो चलाउन सक्दैन ।

Disclaimer

Views and Comments on this website are the sole responsibility of their writers and the writer will take full responsibility that results from something written in or as a direct result of something written in a comment.

3 Comments so far

Post new comment